![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: लमजुङ र मनाङ ) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १२, अंक ०८)
- गत साताको सुरुमा नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावले अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। साताको अन्त्यमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावले केही केन्द्रहरूमा वर्षा मापन भएको छ। देशका वर्षा मापन भएका धेरै केन्द्रहरूमा सरदरभन्दा कम वर्षा मापन भएको छ। गत साता देशका धेरै केन्द्रहरूमा सरदरभन्दा कम अधिकतम तापक्रम मापन भएको छ। त्यसैगरी देशका केही केन्द्रहरूमा न्यूनतम तापक्रम सरदरभन्दा बढी मापन भएको छ।
- साताभर स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहने तर मनसुनी वायुको प्रभाव नरहने सम्भावना छ।
- हिमाली भू-भागः साताभर मध्यम सम्मको हिमपात/वर्षाको सम्भावना छ।
- पहाडी भू-भागः साताभर कोशी प्रदेशको केही स्थानहरूमा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशमा साताको सुरू र मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम सम्मको वर्षाको सम्भावना छ। साताको अन्त्यमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
- तराई भू-भागः कोशी प्रदेशमा साताभर केही स्थानहरूमा, बाँकी प्रदेशमा साताको सुरू र मध्यमा एक-दुई स्थानमा तथा अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, असिना, हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। साथै साताको सुरू र मध्यमा मधेश र लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मध्यम तातो लहर हुने साथै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ।
- सरदरसँग तुलना गर्दा: कोशी प्रदेशमा औसत वर्षा हुने, बाँकी प्रदेशहरूमा औसतभन्दा कम वर्षा हुने सम्भावना छ। विशेषगरी मधेश र लुम्बिनी प्रदेशका अधिकांश भू-भागमा अधिकतम र न्यूनतम तापक्रम औसतभन्दा केही बढी नै रहने सम्भावना छ।
मनसुन ऋतु (१८ जेठ – १४ असोज) २०८३ को जलवायु आकलन
- जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना छ।
कृषि सारांश
- यस समयमा बढी तापक्रम हुने क्षेत्रमा खेतबारीमा काम गर्दा हिटस्ट्रोक हुने सम्भावना भएकाले सकेसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खेतबारीमा काम नगर्नुहोस्। काम गर्नैपरे पर्याप्त पानी खानुका साथै सुरक्षात्मक कपडा लगाउनुहोस्।
- आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेकाले धानखेती गर्दा कम पानी भए पनि राम्रो उत्पादन दिनसक्ने र खडेरी सहनसक्ने जातहरू जस्तै; सुख्खा धान-१, सुख्खा धान-२, सुख्खा धान-३, सुख्खा धान-४, सुख्खा धान-५ र सुख्खा धान-६ आदि छनौट गर्नुहोस्।
- वर्षे धानबालीबाट राम्रो उत्पादन लिन सिफारिस गरिएका धानका उन्नत जातहरूको बीउलाई छानी कार्बेन्डाजिमयुक्त विषादी ३.० ग्राम प्रतिकेजी बीउको दरले उपचार गरेर मात्र ब्याड राख्नुहोस्।
- एक रोपनी जमिनमा वर्षे धान खेती गर्न २५ वर्गमिटर क्षेत्रफलको वा एक कठ्ठाको लागि १५ वर्गमिटर क्षेत्रफलको ब्याड तयार गर्दा राम्ररी पाकेको गोबरमल/कम्पोष्ट मल २०-२५ डोको प्रतिकट्ठा वा ३०-३५ डोको प्रतिरोपनीका दरले माटोमा राम्ररी मिलाइ १.६ केजी बीउ प्रतिकट्ठा वा २.५ केजी बीउ प्रतिरोपनीका दरले (१० वर्गमिटरमा १ केजी बीउका दरले) प्रयोग गर्नुहोस्।
- सिँचाइ र पानीको निकास राम्रो भएको धान खेतीमा जलवायु मैत्री कृषि प्रविधि जस्तै- हिले छरुवा (ड्रम सिडर) प्रयोग गरी लागत न्यूनीकरण गर्नुहोस्।
- हरियो मल लगाउने उपयुक्त समय भएकाले धानबालीमा आवश्यक पर्ने खाद्यतत्व परिपूर्तिको लागि ढैँचा, सनइ, मुंग आदी लगाउनुहोस्। हरियो मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार हुन्छ साथै रासायनिक मलको मात्रा समेत कम गर्न सकिन्छ।
- कोदो बालीबाट राम्रो उत्पादन लिन ठाउँअनुसार सिफारिस गरिएका कोदोका जातहरूको ब्याड राख्नुहोस्।
- सुन्तलाजात तथा बर्खे फलफूल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय विरुवा रोप्नुहोस्।
- काँक्रो-फर्सी समूहको लहरे बालीमा लाग्ने धूले ढुसी रोगको व्यवस्थापनका लागि रोगी विरुवाको ठुटाहरू र झरेका पात जम्मा गरेर नष्ट गरी सल्फरयुक्त विषादी ०.२% को घोलले सम्पूर्ण पात भिज्नेगरी ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्।
- काँक्रो-फर्सी समूहको लहरे बालीलाई फल कुहाउने औँसा कीराको नोक्सानी व्यवस्थापनका लागि क्यु ल्युरयुक्त ट्रयाप प्रतिरोपनी ६-८ वटाको दरले राख्नुहोस्।
- धेरै गर्मी र असिलो तातो हावाको कारण हुने तनाव (Heat stress) ले गर्दा पशुवस्तुले दाना, घाँस कम खाने र दूध उत्पादन ह्वात्तै घट्ने हुन्छ। गाईलाई भन्दा भैंसीलाई (भैँसीको छाला कालो हुने र पसिना निकाल्ने ग्रन्थीहरू पनि कम भएकाले) गर्मीले अझ बढी असर गर्छ। यस्तो तनाव कम गर्न गोठमा पङ्खा चलाउने र पशुको जिउमा पर्नेगरी पानी छर्कने (sprinkler/fogger) व्यवस्था मिलाउनुहोस्। दिउँसोको समयमा हरेक ३० देखि ४० मिनेटको फरकमा ३-५ मिनेटसम्म भैँसीलाई नुहाइदिनुहोस् वा आहाल बस्ने व्यवस्था मिलाउनुहोस्।
- गर्मीको समयमा दिउँसोको कडा घाममा भन्दा बिहान सबेरै र बेलुकाको समयमा घाँस र दाना दिनुहोस्। गर्मीले गर्दा पशुवस्तुको पेटमा अम्लीयपन बढ्ने भएकाले दानामा खाने सोडा ०.७५ देखि १ प्रतिशतसम्म मिसाएर दिनुहोस्। हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
- सुख्खा र गर्मीका कारण पोखरीको पानी घट्ने र गन्हाउन सक्ने भएकाले पोखरीमा १.५-२ मिटर गहिराइसम्म पानी कायम राख्नुहोस्। पानीको गन्ध नहटेसम्म एरेटर प्रयोग गर्नुहोस् र गर्मीबाट हुने तनाव कम गर्न कार्प र ट्राउट माछालाई भिटामिन-सीयुक्त सन्तुलित दाना खुवाउनुहोस्।
- सेटेरिया, गिनी, सिग्नल जस्ता वर्षेघाँसका लागि नर्सरी बेडको तयारी गरी बीउ लगाउनुहोस्।
- उच्च पहाडी क्षेत्रमा नयाँ घाँस तयार नभएसम्म डाले घाँस र बाँसका प्रजातिहरू खुवाउनुहोस्।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

