![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: लमजुङ र मनाङ ) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १२, अंक ०९)
- गत साता नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभावले सबै केन्द्रहरूमा वर्षा मापन भएको छ। कोशी प्रदेशका केही केन्द्रहरूमा तथा मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका एक-दुई केन्द्रहरूमा १००.० मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। देशको पश्चिमी भू-भागभन्दा मध्य र पूर्वी भू-भागमा बढी वर्षा मापन भएका छ। वर्षा मापन भएका धेरै केन्द्रहरूमा सरदरभन्दा कम वर्षा मापन भएको छ। गत साता देशका धेरै केन्द्रहरूमा सरदरभन्दा बढी अधिकतम तापक्रम मापन भएको छ। त्यसैगरी देशका केही केन्द्रहरूमा न्यूनतम तापक्रम सरदरभन्दा कम मापन भएको छ। साताभर स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहने तर मनसुनी वायुको प्रभाव नरहने सम्भावना छ।
- यो साता कोशी, मधेश, बागमती प्रदेशसम्म मनसुी वायुको प्रभाव रहने सम्भावना छ।
- हिमाली भू-भागः कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा मध्यम वर्षा/हिमपातको सम्भावना छ। त्यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साताभर मध्यम वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः कोशी प्रदेशमा साताभर, बागमती र गण्डकी प्रदेशमा साताको शुरू र मध्यमा केही स्थानहरूमा तथा अन्त्यमा थोरै स्थानहरूमा स्थानहरूमा साथै लुम्बिनी प्रदेशमा साताको सुरूमा केही स्थानहरूमा तथा मध्य र अन्त्यमा थोरै स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साताभर मेघगर्जन/चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरूमा कोशी, बागमती, गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
- तराई भू-भागः कोशी प्रदेशमा साताभर केही स्थानहरूमा, मधेश,बागमती र गण्डकी प्रदेशमा साताको सुरू र मध्यमा थोरै स्थानहरू तथा अन्त्यमा एक-दुई स्थानमा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको सुरूमा थोरै स्थानहरूमा तथा मध्य र अन्त्यमा स्थानमा मेघगर्जन/चट्याङ/असिना/हावाहुरी सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको शुरूमा कोशी, बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
- शका हिमाली भू-भागमा अधिकतम र न्यूनतम तापक्रम उल्लेख्य परिवर्तन नहुने तथा बाँकी भू-भागमा हल्का बढ्ने सम्भावना छ। साताको अन्त्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरूमा तातो दिन हुने सम्भावना छ।
- सरदरसँग तुलना गर्दाः देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना छ भने अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढि हुने सम्भावना छ।
मनसुन ऋतु (१८ जेठ – १४ असोज) २०८३ को जलवायु आकलन
- जेठ १८ देखि असोज १४ सम्मको चार महिनाको मनसुन ऋतुमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदरभन्दा बढी रहने सम्भावना छ।
कृषि सारांश
- यस समयमा बढी तापक्रम हुने क्षेत्रमा खेतबारीमा काम गर्दा हिटस्ट्रोक हुने सम्भावना भएकाले सकेसम्म बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खेतबारीमा काम नगर्नुहोस्। काम गर्नै परेमा पर्याप्त पानी खानुका साथै सुरक्षात्मक कपडा लगाउनुहोस्।
- आगामी मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेकाले धानखेती गर्दा कम पानी भए पनि राम्रो उत्पादन दिनसक्ने र खडेरी सहनसक्ने जातहरू जस्तै; सुख्खा धान-१, सुख्खा धान-२, सुख्खा धान-३, सुख्खा धान-४, सुख्खा धान-५ र सुख्खा धान-६ आदि छनौट गर्नुहोस्।
- वर्षे धानबालीबाट राम्रो उत्पादन लिन सिफारिस गरिएका धानका उन्नत जातहरूको बीउलाई छानी कार्बेन्डाजिमयुक्त विषादी ३.० ग्राम प्रतिकेजी बीउको दरले उपचार गरेर मात्र ब्याड राख्नुहोस्।
- एक रोपनी जमिनमा वर्षे धान खेती गर्न २५ वर्गमिटर क्षेत्रफलको वा एक कठ्ठाको लागि १५ वर्गमिटर क्षेत्रफलको ब्याड तयार गर्दा राम्ररी पाकेको गोबरमल/कम्पोष्ट मल २०-२५ डोको प्रतिकट्ठा वा ३०-३५ डोको प्रतिरोपनीका दरले माटोमा राम्ररी मिलाइ १.६ केजी बीउ प्रतिकट्ठा वा २.५ केजी बीउ प्रतिरोपनीका दरले (१० वर्गमिटरमा १ केजी बीउका दरले) प्रयोग गर्नुहोस्।
- सिँचाइ र पानीको निकास राम्रो भएको धान खेतीमा जलवायु मैत्री कृषि प्रविधि जस्तै- हिले छरुवा (ड्रम सिडर) प्रयोग गरी लागत न्यूनीकरण गर्नुहोस्।
- हरियो मल लगाउने उपयुक्त समय भएकाले धानबालीमा आवश्यक पर्ने खाद्यतत्व परिपूर्तिको लागि ढैँचा, सनइ, मुंग आदी लगाउनुहोस्। हरियो मलको प्रयोगले माटोको स्वास्थ्यमा सुधार हुन्छ साथै रासायनिक मलको मात्रा समेत कम गर्न सकिन्छ।
- कोदो बालीबाट राम्रो उत्पादन लिन ठाउँअनुसार सिफारिस गरिएका कोदोका जातहरूको ब्याड राख्नुहोस्।
- फलफूल बालीका नर्सरीहरूमा कलमी गरेको भाग भन्दा तलबाट आएका चोर हाँगाहरू अनिवार्य रुपमा काँटछाँट गर्नुहोस्।
- सुन्तलाजात तथा बर्खे फलफूल बालीका लागि तयार गरिएका खाडलमा गुणस्तरीय विरुवा रोप्नुहोस्।
- बिहान सबेरै आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्यबिहान र बेलुकीपख मात्र टिप्नुहोस्।
- खुर्सानीको बोट ओइलाउने रोगको नियमित अनुगमन गर्नुहोस्।
- तरकारी बाली काट्ने र फलहरू टिप्ने अवस्थामा रोग तथा कीराहरू लागेमा यिनीहरूबाट आर्थिक क्षति थोरै हुने भएकोले विषादी प्रयोग नगर्नुहोस्। यो अवस्थामा विषादी प्रयोग गरेमा विषादीको अवशेष बालीमा रहन जाने र मानव स्वास्थ्य तथा वातावरणमा नकारात्मक असर पुग्ने हुन्छ।
- काँक्रो-फर्सी समूहको लहरे बालीमा लाग्ने धूले ढुसी रोगको व्यवस्थापनका लागि रोगी विरुवाको ठुटाहरू र झरेका पात जम्मा गरेर नष्ट गरी सल्फरयुक्त विषादी ०.२% को घोलले सम्पूर्ण पात भिज्नेगरी ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्।
- धेरै गर्मी र असिलो तातो हावाको कारण हुने तनावले गर्दा पशुवस्तुले दाना, घाँस कम खाने र दूध उत्पादन ह्वात्तै घट्ने हुन्छ। गाईलाई भन्दा भैंसीलाई (भैँसीको छाला कालो हुने र पसिना निकाल्ने ग्रन्थीहरू पनि कम भएकाले) गर्मीले अझ बढी असर गर्छ। यस्तो तनाव कम गर्न गोठमा पङ्खा चलाउने र पशुको जिउमा पर्नेगरी पानी छर्कने व्यवस्था मिलाउनुहोस्। दिउँसोको समयमा हरेक ३० देखि ४० मिनेटको फरकमा ३-५ मिनेटसम्म भैँसीलाई नुहाइदिनुहोस् वा आहाल बस्ने व्यवस्था मिलाउनुहोस्।
- गर्मीको समयमा दिउँसोको कडा घाममा भन्दा बिहान सबेरै र बेलुकाको समयमा घाँस र दाना दिनुहोस्। गर्मीले गर्दा पशुवस्तुको पेटमा अम्लीयपन बढ्ने भएकाले दानामा खाने सोडा ०.७५ देखि १ प्रतिशतसम्म मिसाएर दिनुहोस्। हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
- सुख्खा र गर्मीका कारण पोखरीको पानी घट्ने र गन्हाउन सक्ने भएकाले पोखरीमा १.५-२ मिटर गहिराइसम्म पानी कायम राख्नुहोस्। पानीको गन्ध नहटेसम्म एरेटर प्रयोग गर्नुहोस् र गर्मीबाट हुने तनाव कम गर्न कार्प र ट्राउट माछालाई भिटामिन-सीयुक्त सन्तुलित दाना खुवाउनुहोस्।
- पोखरीमा उपलब्ध हुने प्राकृतिक आहाराको अधिकतम उपयोगको लागि मत्स्य ह्याचरीमा उपलब्ध हुने कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, बिगहेड कार्प, रहु र नैनीका भुराहरू असारको अन्त्यसम्म विभिन्न जातहरूका अनुपात मिलाइ पोखरीमा राख्नुहोस्।
- सेटेरिया, गिनी, सिग्नल जस्ता वर्षेघाँसका लागि नर्सरी बेडको तयारी गरी बीउ लगाउनुहोस्।
- उच्च पहाडी क्षेत्रमा नयाँ घाँस तयार नभएसम्म डाले घाँस र बाँसका प्रजातिहरू खुवाउनुहोस्।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

